काठमाडौं - मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा जित हात पारेका छन् ।

मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे । ७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको एकमात्र हार पनि अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादसँगै थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

ओपनर शिखर धवनको अविजित ६९ र कप्तान श्रेयस ऐरको ४२ रनमा दिल्लीले टस जितेर ब्याटिङ गर्दै १६३–४ को स्कोर बनायो । धवनले ५२ बल खेल्दै ६ चौका र १ छक्का तथा ऐरले ३३ बल खेली ५ चौका प्रहार गरे । मुम्बईका कुनाल पाण्डेले २ विकेट लिए । जवाफमा क्विन्टन डी कक र सूर्यकुमार यादवको समान ५३ रन बनाएपछि मुम्बईले दुई बलअगाडि नै १ सय ६६ रन बनायो । इशान किशनले २८ रन जोडे ।कागिसो राबाडाले दिल्लीबाट २ विकेट लिए ।

राजस्थानलाई राहत

दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुल टेवाटियाले राजस्थानलाई अर्को विजय दिलाए । राजस्थानले यसअघि दुई खेल जित्दा एउटामा म्याच विजयी प्रदर्शन गरेका टेवाटियाले २८ बलमा अविजित ४५ रन बनाएपछि राजस्थानले १ सय ५९ रनको लक्ष्य एक बलअगाडि १ सय ६३ रन बनाउँदै पूरा गरेको थियो । उनले ४ चौका र २ छक्का प्रहार गरे ।

टेवाटियाले रियान परागसँग छैटौं विकेटमा ४७ बलमा अविजित ८५ रनको साझेदारी गरे । विजयी छक्का प्रहार गरेका परागले २६ बल खेली २ चौका र २ छक्कासहित अविजित ४२ रन बनाए । जोस बटलर १६, सन्जु सामसन २६, रोबिन उत्थप्पा १८ रनमा आउट भए । कप्तान स्टिभ स्मिथ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका बेन स्टोक्स दुवै ५ रनमै आउट भए । हैदराबादका रसिद खान र खलिल अहमदले २–२ विकेट लिए ।

यसअघि हैदराबादले टस जितेर ब्याटिङ गर्दै १५८–४ को स्कोर बनाउँदा मनिष पाण्डेले ५४ र कप्तान डेविड वार्नरले ४८ रन बनाए । मनिषले ४४ बल खेली २ चौका र ३ छक्का तथा वार्नरले ३८ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । जोनी बेरिस्टो १६, प्रियम गर्ग १५ रनमा आउट भए । केन विलियम्सन १२ बलमा २ छक्का प्रहार गर्दै २२ बलमा अविजित रहे । 

कान्तिपुर दैनिकबाट