धनुषा - कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं. ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं ४ महावीर चोकका विकासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी रू. ५० र प्याज प्रतिकेजी रू १०० मा बिक्री गरिरहेको जनाइएको छ । पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।