काठमाडौं - अब पठाओ नेपालका चालक तथा राइडरहरुले बीमा सुविधा पाउने भएका छन् । पठाओ नेपाल, राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग विहीबार एक साझेदारी पत्रमा हस्ताक्षर भएसँगै बीमाको व्यवस्था हुने भएको हो ।

उक्त साझेदारीअन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।यसको साथै कुनै पनि ग्राहक तथा राईडर/चालकहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ ।

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।

‘हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं,’ पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात भने, ‘यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राईडर/चालक साथीहरु विस्वस्त हुन सक्छन् ।’

पठाओ ग्राहक तथा राईडर/चालकहरुको सुरक्षाप्रति दृढ उनले बताए । उनले भने, ‘हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।’

पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठुलो तथा लोकप्रिय राईड–शेयरिंग सेवा प्रदायक एप हो ।

यो एशियाकै सबैभन्दा तीव्र वृद्धि भएको टेक स्टार्टअफ मध्य एक हो जुन सर्वसाधारणको दैनिक यातायातको समस्याकालागि सर्वोत्कृष्ट समाधान विकास गर्न समर्पित छ । पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिंग सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि शुरु गरेको छ ।