चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार
काठमाडौं - राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षाकर्मी घरेलु कामदारको रूपमा खटिएका छन् । कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रूपमा यसरी दुरुपयोग हुँदै आएको छ । कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब १५–१५ सय उच्चपदस्थ व्यक्तिहरूको घरमा कार्यरत रहेको गृह मन्त्रालयको तथ्यांक छ । त्यस्तै नेपाली सेनाबाट करिब एक हजार कर्मचारी यसरी नेता तथा हाकिमका घरमा खटिएका छन् । उनीहरूलाई हटाउन पटक–पटक प्रयास हुँदा पनि गृह मन्त्रालय तथा सैनिक मुख्यालय सफल हुन सकेको छैन ।
नेपाल प्रहरीले सुरक्षा सेवा निर्देशनालयअन्तर्गत सुरक्षा समितिको बैठकअनुसार पिएसओ खटाउँछ । निर्देशनालयअन्तर्गत हाल करिब एक हजार प्रहरी खटिएका छन् । त्यसबाहेक पनि विभिन्न कार्यालयबाट करिब पाँच सय प्रहरी हाकिमहरूको घरमा खटिएको स्रोत बताउँछ ।
नेपाल प्रहरीमा पूर्वडिआइजीलाई एक तथा पूर्वएआइजीलाई दुईजना सहयोगीको सुविधा दिने निर्णय भएको छ । त्यस्तै, पूर्वआइजिपीले तीनजना पाउँछन् । एकातर्फ कानुनविना नै सामान्य निर्णय गरेर यसरी सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको छ भने अर्कोतर्फ तोकिएभन्दा धेरै उनीहरूले लगेका छन् ।
बहालवाला प्रहरी अधिकारीले अझै धेरै सुरक्षाकर्मीलाई घरको काममा लगाएका छन् । इन्चार्जका रूपमा काम गर्ने धेरै प्रहरीले आफ्नो घरमा प्रहरीलाई राखेका छन् । कर्मचारी प्रशासन, बजेट, सचिवालयजस्ता निकायका कार्यरत प्रहरीले समेत घरमा कामदार राखेका छन् । धेरै दुरुपयोग भएको भन्दै पछिल्लो डेढ वर्षमा करिब चार सय प्रहरीलाई फिर्ता गरिएको थियो । विगतमा दरबन्दी लगाएर विभिन्न नेताको घरमा खटाइएकालाई समेत फिर्ता गरिएको छैन । फिर्ता गर्दा नेताहरू रिसाउने र आफूहरूविरुद्ध लाग्न सक्ने ठानेर आईजिपी नै डराउने गरेको एक प्रहरी अधिकारी बताउँछन् ।
नयाँ पत्रिकाबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस