काठमाडौं,एजेन्सी - ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित हात पारेको छ । 

गएराति भएको दोस्रो खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रनमै समेटियो । 

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रनको योगदान दिए । यस्तै, मनिष पाण्डेले ३८, राशिद खानले १७ र जोनी बेयर्स्टो १२ रन बनाए । बलिङमा शहवाज अहमदले ३ विकेट लिए । यस्तै, मोहम्मद सिराज र हर्षल पटेलले २–२ विकेट लिँदा काइल जामिसनको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । बेंगलोरका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै, कप्तान बिराट कोहलीले ३३,  शाहबाज अहमेदले १४ तथा देबदुत पडिकलले ११ रन जोडे । बलिङमा जेसन होल्डरले ३ विकेट लिए । यस्तै, राशिद खानले २ विकेट लिए भने टि नटराजन, भुवनेश्वर कुमार र शहवाज नदिमको नाममा १–१ विकेट रह्यो ।

जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।