काठमाडौं, एजेन्सी - नेसन्स लिग अन्तर्गत जर्मनीले स्पेनविरुद्ध लज्जास्पद हार ब्यहोरेको छ । समूह ए ४ को अन्तिम खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो ।

स्पेनको मैदान इस्टेडियो डि ला कार्तुजामा मध्यरातमा भएको खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक समेत गरे । उनले ३३, ५५ र ७१ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै १७ औं मिनेटमा अल्भारो मोराटा, ३८ औं मिनेटमा रोड्री र ८९ औं मिनेटमा मिकेल ओएरजाबेलले गोल गरे । जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक छ ।