काठमाडौं,एजेन्सी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा मोइस किन नायक बने । हालै प्रिमियर लिगको क्लब एभर्टनबाट लोनमा पीएसजी पुगेका उनले २ गोल गरेका हुन् ।

मोइसले खेलको दोस्रो हाफको ६४ औं र ७९ औं मिनेटमा गोल गरेका थिए । पीएसजीले जित दर्ता गरेपनि खेलको सुरुवातमै ब्राजिली स्टार नेयमारले चोट बोकेका थिए । उनको मांशपेशीमा समस्या आएपछि २६ औं मिनेटमा मैदानबाट बाहिरीएका थिए । उनको स्थानमा पाब्लो सरबियाले मौका पाएका थिए ।

जितसँगै पीएसजीले २ खेलमा तीन अंक जोडेको छ । पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भएको थियो । पराजित इस्तानबुल अंक विहिन छ ।