जनताको चाहाना अनुसार काम गरेर देखाउनुको विकल्प छैन : सांसद श्रेष्ठ
काठमाडौं - राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रियसभा सदस्यको सपथ लिए लगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उनले वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताएका हुन् । उनले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई “यताउता” गरेर बहाना देखाउने छुट नभएको बताए ।
उनले भने, “लोकतन्त्र भएन भन्न पाईदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाईदैन । अब बहुमतको सरकार छैन राजनैतिक स्थिरता छैन । राजनैतिक अस्थिरता छ भन्न पाईदैन र अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक यताउता गर्ने ठाउँ छैन ।”
राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प नभएको भन्दै उनले त्यसका लागि सरकारको एक्लो प्रयासले नहुने भएकाले सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
उनले भने, “हामी सबै जुनसुकै पार्टीमा होऔ । सरकारमा होऔ । सत्तारुढ पार्टीमा होऔ वा बाहिर होऔ । सबैको जिम्मेवारी यो देशलाई जुन उद्देश्यले हामीले राजनीतिक परिर्वतन गर्यौ त्यो उद्देश्यलाई राजनीतिक परिर्वतनमा मात्रै सिमित नराख्ने, राजनीतिक उपलब्धिमा मात्रै सिमित नराख्ने त्यसलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने र यो देशलाई सम्मृद्ध नेपालमा रुपान्तरण गर्नु हो । व्यवहारमा देखाउनु बाहेक अर्को कुनै विकल्प छैन । यसको जिम्मेवारी मुलत जनादेशले हाम्रो पार्टीको सरकारलाई दिएको छ । सरकारले नै मुख्य जिम्मेबारी पुरा गर्नुपर्छ । ”
उनले अतिक्रमित भुभमाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक संघ संस्था, नागरिक समाज सबैमिलेर काम गर्नुपर्नेमा जोड दिए । अतिक्रमित भु–भाग फिर्ता गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउने सवालमा नेपालका सबै राजनीतिक पार्टी नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने बताए ।
उनले लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक रहेको बताए । बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उनले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्र बाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस