काठमाडौं,एजेन्सी - बलिउड स्टार सलमान खान अभिनित 'राधे'ले नकरात्मक प्रतिक्रिया पाएपनि सलमानका ठूला फ्यान फलोइंग छन् । 

उनलाई हेर्न मात्रका लागि पनि दर्शकहरु हलसम्म पुग्ने गर्दछन् । तर अहिले कोरोना महामारीको अवस्थाले गर्दा उनको फिल्म राधे डिजिटल प्लाटफर्म र सिमित हलहरुमा लागेको थियो ।  

अब उनका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । कोरोना भाइरस र लकडाउनका कारण फिल्मको छायांकन अन्योलमा छ । 

निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ । जसका कारण निर्माताले ठूलो नोक्सान बेहोर्नुपरेको छ ।

मिडिया रिपोर्ट अनुसार फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने अहिलेसम्म यकिन छैन । भारतमा कोरोनाका कारण लामो समयदेखि लकडाउन जारी छ । निर्माण टिम सरकारले जूनको अन्त्यबाट छायांकन अनुमति दिने आशमा छ । ‘टाइगर ३’ मा तीन सय जनाको टिमले काम गर्ने भएकाले छायांकन सुरु हुनभन्दा अगाडि सबैको भ्याक्सिनेसन हुनुपर्नेछ ।

छायांकन सुरु हुनुभन्दा अगाडि सेट बनाइराख्नु निकै महंगो पर्ने भएपछि फिल्म निर्माण कम्पनी सेट भत्काउने निर्णयमा पुगेका हुन् । अब जहिले फिल्मको काम सुरु हुन्छ तब सेट बनाइने भएको छ । फिल्ममा सलमान खानका अलावा कटरीना कैफ र इमरान हाशमी पनि मुख्य भूमिकामा छन् ।