एजेन्सी - स्पेनिस महारथी रियल मड्रिडलाई हराउँदै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

गएराति अन्तिम १६ को दोस्रो लेगको खेलमा रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । गएरातिको भएको खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । रोड्रिग्वोको उपलब्ध गराएको पासमा उनले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा कुनै पक्षबाट गोल हुन सकेन । सम्रगमा सिटी ४-२ को जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ ।

सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ ।