बारा- बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्।

जसपा अध्यक्ष यादवले १२ हजार ६४७ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ८ हजार ३९७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ४८६ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो।

कुल १ लाख ५ हजार २४८ मतदाता रहेको बारा– २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो। महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ।