प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव सचिवालयमा दर्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।
त्यसका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् ।
संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्नेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धन आबद्ध पाँच दलले स्थिति अनुकूल रहेको विश्लेषण गर्दै विश्वासको मत लिन सुझाएका हुन् । देउवा प्रधानमन्त्री भएयता सत्ता गठबन्धनको पूर्ण बैठक एकपटक बसेको छ भने गठबन्धन आबद्ध नेताहरूले छुट्टाछुट्टै पनि छलफल गर्दै आइरहेका छन् ।
देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन्।
फेसबुक पेज Like गर्नुहोस