काठमाडौं - नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । 

मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । हाल उनको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । 

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनी  नर्भिक अस्पतालमा भर्ना भएका थिए । उपचारपछि उनको अवस्थामा सुधार आएको थियो । आफैँले श्चासप्रश्चास गर्न सक्ने भएपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको  अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, नेता जोशीको सचिवालयले भ्रमपूर्ण समाचार प्रवाह नगरिदिन आग्रह गरेको छ । ‘नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’नेता जोशीकै आधिकारिक फेसबुक पेजमा एक स्टाटस राख्दै सचिवालयले भनेको छ–  ‘उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ । कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।’