साग : पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको शानदार जित
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुदसागको महिला भलिबल विधा अन्तगर्त नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कर्भड हलमा भएको पहिलो खेलमा नेपालले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । नेपालले पहिलो सेटदेखि नै सन्तुलित प्रदर्शन गर्यो ।
पहिलो सेटमा २५–९ ले जित हात पारेको नेपालले लगातार तीनै सेटमा जित हात पार्यो । दोस्रो सेटमा बङ्गलादेश २५–९ ले पराजित भयो । तेस्रो सेटको सुरुवातमा वापसी गरेको बङ्गलादेशले अन्त्यतिर कमजोर प्रदर्शन गर्दा तेस्रो सेट पनि गुमाउन पुग्यो । कुनै समय ६–७ ले अगाडि रहेको बङ्गलादेशलाई उछिन्दै नेपालले तेस्रो सेट २५–११ ले जित हात पार्यो ।
महिला भलिबलमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बङ्गलादेश छन् । प्रतियोगिता अन्तगर्त आजै माल्दिभ्स र पाकिस्तानबीच स्पर्धा हुनेछ । बिहिबार भारत र नेपाल तथा श्रीलङ्का र पाकिस्तानबीच स्पर्धा हुनेछ ।
शुक्रबार भारत र बङ्गलादेश तथा श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार लिग चरण्णमा उत्कृष्ट हुने चार टोली सेमीफाइनल खेल्नेछन् । सोमबार तेस्रो स्थानको लागि सेमीफाइनलमा पराजित हुने दुई टोलीबीच स्पर्धा हुनेछ । र मङ्गलबार स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।
साग पुरुष भलिबल अन्तगर्त आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग स्पर्धा गर्नेछ । बिहिबार पाकिस्तान र माल्दिभ्स तथा भारत र बङ्गलादेशबीच स्पर्धा हुनेछ ।
पुरुष भलिबलमा नेपाल, भारत र बङ्गलादेश समूह ए मा रहेको छ । समूह बी मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेको छ । त्यसैगरी, ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल फिटनेश सेन्टरमा ऊशु विधाका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस