निजामती सेवा विधेयक त्रुटि छानबिन प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुने
काठमाडौं - संघीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटि छानबिनका लागि गठित विशेष समितिले तयार पारेको प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी भएको छ ।
समिति सदस्य माधव सापकोटाका अनुसार सिंहदरबारमा रातभर बसेर प्रतिवेदन टुंगोमा पुर्याइएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको बताइएको छ ।
२९ दिनमा ३७ बैठक बसेर तयार गरिएको प्रतिवेदनमा भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन विशेषज्ञसँग परामर्शसहित सिफारिसहरू समावेश गरिएको समितिले जनाएको छ ।
गत असार २३ गते गठन गरिएको सात सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस