काठमाडौं - नेपाली सेनाले आजबाट गोरखा-काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरू गरेको छ।

पृथ्वी जयन्तीको अवसरमा सेनाले मंगलबारदेखि सहसेनानी दल बहादुर थापाको नेतृत्वमा रहेको ४० जनाको टोलीले गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरू गरेको हो । सेनाको उक्त टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन्।

पदयात्रामा सहभागी सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरू श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुजको झण्डा, राष्ट्रिय झण्डा तथा टर्च बोकेका छन् ।

सेनाको उक्त टोलीले गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउापालिको अश्राङ, बोर्लाङ हुँदै बुंकोटघाट पुगेर धादिङ सल्यान्टारका सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ । धादिङले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली नै काठमाडौं हनुमानढोका आउनेछ ।