काठमाडौं,एजेन्सी -  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिड्स युनाईटेड विरुद्ध ३-० गोल अन्तरको सहज जित निकालेको हो ।

खेलको २९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै घरेलु मैदानमा टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा ह्युङ मिन सनको गोलबाट टोटेनहमले पहिलो हाफसम्म २-० को अग्रता लियो । ५० औं मिनेटमा टोबी एल्डरवायर्ल्डले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।

जितसँगै टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित लिड्स २३ अंक जोडेर १२ औं स्थानमा छ ।

यस्तै, लिगकै अर्को खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको वेस्ट ब्रममाथि ४–० को सानदार जित निकालेको छ । आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेटले दुई गोल गर्दा काइरन टाएरने र बुकायो साकाले समान एकएक गोल गरे । आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित ब्रम ८ अंकसहित १९औं स्थानमा यथावत छ ।