काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएसँगै चेकजाँचमा कडाई गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ। 

सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ। यो समयमा अत्यावश्यकबाहेक हिंडडुलमा समेत रोक लगाइएको छ।

कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौंका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो। निषेधाज्ञामा औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका छिर्ने नाका र चोकचोकमा चेक जाँच कडाई पारिएको छ । पास र अत्यावश्यकबाहेक जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन नभएको कार्यालयले जनाएको छ। अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।