काठमाडौं,एजेन्सी - दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली अंक तालिकामा शीर्षस्थानमा उक्लिएको हो । 

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । दिल्लीका लागि शिखर धवन ६९ रनमा अविजित रहे । यस्तै, पृथ्वी शले ३९ रन र स्टिभ स्मिथले २५ रन जोड्दा शिम्रोन हिटमायर १६ रनमा अविजित रहे । बलिङमा पन्जाबका हरप्रीत ब्रार, क्रिस जोर्डन र राइली मेरिडीथले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मयंक अग्रवाल शतक बनाउन १ रनले चुके । उनी ५८ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित रहे । यस्तै, विड मालनले २६ रन र क्रिस गेलले १३ रन जोडे । बलिङमा दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए । अक्षर पटेल र आवेश खानको नाममा १–१ विकेट रह्यो । 

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोडेको छ । पराजित  पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैठौँ स्थानमा छ ।