काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको दाबी गरेका हुन् ।

सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको उनको भनाई छ । उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वपना देख्ने गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईँहरू सबैले यो कुरालाई महसुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा स्वप्नामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।’

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाए । उनले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरूसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने जिकिर गरे ।