काठमाडौं - चितवन राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको शव परिवारले बुझेका छन्। 

स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका थिए । तर, आज परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । 

असार ११ गते हराएकी भण्डारीको शव ९ दिनपछि जंगलमा भेटिएको थियो। जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । 

त्यसपछि भण्डारीको पोष्टमार्टम गरिएको थियो । रिपोर्टमा भण्डारीको  मृत्युको कारण चोट पटक नभएको खुलेको छ । पोष्टमार्टममा सुजितामाथि बलात्कार नभएको पनि पुष्टि भएको छ । भण्डारीको ‘हाइमेन नच्यातिएको’ले बलात्कार नभएको पुष्टि भएको छ । 

अनुसन्धानका लागि प्रहरीले पर्खिराखेको भिसेराको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ। विषाक्त पदार्थको सेवनबाट मृत्यु भएको हो वा होइन भन्ने यकिन गर्न प्रहरीले भिसेरा परिक्षणका लागि काठमाडौं पठाएको छ ।