काठमाडौं -  संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत आज बसेकाे प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक सुरु  हुने वितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । 

सभामुख सापकोटाले एमाले सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको, देशमा बाढी पहिरोका विभिन्न समस्या रहेको र अवरोधका क्रममा सत्ता पक्षका अन्य सांसद्को बोल्ने अधिकार संकुचित भएको भन्दै पटकपटक संसद् चलाउन सहयोग गर्न आग्रह गरेका थिए । ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

तर, एमाले सांसदहरुले भने संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर भन्दै नारावाजी जारी राखे ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ ।