काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फैसला आउने मिति सरेको छ ।

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द हुने भएपछि फैसला मिति सरेको हो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोग र सत्तारुढ दल नेकपालाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटमा गत बिहीबार सर्वोच्चले फागुन २० गते  अन्तिम फैसला सुनाउने निर्णय गरेको थियो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।   

निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको कट्टेलको दाबी छ। तर, हालसम्म उक्त मुद्दाले न सुनुवाइको मौका पायो, न त अदालतकै प्राथमिकता परेको छ। 

कसरी रह्याे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे नाम ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकता भएको थियो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रम सम्पन्न भएसँगै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’  निर्वाचन आयोग पुगेर पार्टी एकीकरण भएको पत्र बुझाएका थिए।

उनीहरुले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राख्न खोजे पनि आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता भएको बताइएको थियो । त्यसको विकल्पमा सोही नामको मुनि अन्डरलाइन पनि थपेर पार्टी दर्ताका लागि निवेदन दिइएको थियो। त्यसपछि एउटै नामको पार्टी आयोगमा एक भन्दा बढी दर्ता रहेको सार्वजनिक भएपछि विवाद चर्कियो ।  

विवाद बढ्दै गएपछि जेठ १७ मा पार्टीको नामबाट अन्डरलाइन हटाएर कोष्ठक थपियो। नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को जानकारी दिँदै आयोगसमक्ष प्रस्ताव राखियो ।

जेठ २३ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा० लाई दर्ता गर्ने निर्णय गरेसँगै पार्टीको नामले वैधानिकता पायो। जेठ २४ गते निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दियो। तर, कोष्ठक मात्रै राखेर नामलाई फरक देखाउने कोसिस गरिएको भन्दै कट्टेल असन्तुष्ट छन् । विवाद अझै निरुपण भइसकेको छैन।