काठमाडौंको मित्रपार्कमा एक युवकको शव भेटियो
काठमाडौं - काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका– ७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो।
आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा युवकको शव फेला परेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। उक्त स्थानमा आइतबार सवा ११ बजेतिर झगडा भएको थियो।
प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्। झगडा गर्ने अर्का एक जना भने फरार छन्।
उनीहरूकै कुटपिटबाट युवकको मृत्यु भएको वा लडेर भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताए। मृतकको परिचय पनि खुलेको छैन।
फेसबुक पेज Like गर्नुहोस