डेढ घण्टा ढिलो सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो ।
गत साउनमा सुरु भएर भदौमा सकिएको केन्द्रीय समिति बैठकपछि बल्ल कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो ।
बैठकका लागि आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृसंस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरेको जानकारी दिए ।
बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई निर्देशन दिएको थियो ।
उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भङ्ग गरिएको छ ।
यता, केन्द्रीय कार्यसमिति बैठक हुनु अघि पार्टी कार्यालय सानेपामा महाधिवेशनको माग गर्दै नेविसंघ, तरुण दल र महिला संघका असन्तुष्ट समूहले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ?’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’, ‘महिला संघको मर्ममा प्रहार गर्न पाइदैन, असक्षम नेतृत्व चाहिदैन’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
तरुण दलका युवाहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन जारी रहेको छ।
पार्टीको केन्द्रीय कमिटी बैठक अगाडि उनीहरूले माग राखेका हुन्। उनीहरुले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे माग राखेका छन्। गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवेशन गर्न नसकेकाले नेतृत्व असक्षम रहेको उनीहरुको दाबी छ।
२०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटक–पटक म्याद थप्दा पनि ३–३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको, तरुण दलको केन्द्रीय कार्यालय भवन केन्द्रीय समितिलाई थाहै नदिई निजी सम्पत्ति झैं गरी आफू खुसी भत्काएर कार्यलयविहीन बनाएको आरोप समेत लगाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस