काठमाडौं - परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। 

 २०६६ सालमा पाँच तिब्बती शरणार्थीले नेपालको परराष्ट्र मन्त्रालयबाट जारी गरिएको ‘ट्राभल डकुमेन्ट’ लिएर काठमाडौंस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। उनीहरूले आफूहरू हालै तिब्बतबाट नेपाल आएको दाबी गर्दै जर्मनीमा शरण पाइसकेका आफन्तसँग पुनर्मिलनका लागि भिसा मागेका थिए।

उक्त आवेदनपछि जर्मन दूतावासका अधिकारीहरूले उनीहरूको दाबीमाथि शंका गरेका थिए। हालै नेपाल प्रवेश गरेको दाबी गर्ने व्यक्तिहरूले यति छोटो अवधिमै ट्राभल डकुमेन्ट प्राप्त गरेको विषयलाई लिएर अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा ट्राभल डकुमेन्ट जारी प्रक्रियामा अनियमितता भएको, परराष्ट्र मन्त्रालयभित्र मिलेमतो भएको आशंका, ट्राभल डकुमेन्ट हराएको तथा डेढ दशकभन्दा बढी समयदेखि टुंगोमा नपुगेको प्रकरण उजागर भएको थियो।

सोही प्रकरणमा १७ वर्षपछि सहसचिव भट्टराईविरुद्ध राहदानी ऐन, २०७६ तथा साविकको राहदानी ऐन, २०२४ बमोजिम कैद र जरिवानाको माग गरिएको थियो। 

साथै, भ्रष्टाचारसम्बन्धी विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिएको थियो।

यस प्रकरणमा बिहीबार भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि सीआईबीले पक्राउ गरेको हो।

नेपालमा रहेका शरणार्थीले विदेश भ्रमणका लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएपछि मात्र यात्रा अनुमति पत्र जारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

तर, अनुसन्धानबाट भट्टराईले आवश्यक प्रक्रिया पूरा नगरी तथा फर्जी कागजातका आधारमा अनुमति पत्र जारी गरेको आरोप पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध राहदानी ऐनअनुसार मुद्दा अघि बढाइएको छ।