काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक/एक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए । क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले रोकेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो । आफ्नो पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएका थिए । त्यसमा मेस्सीले गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए ।

खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । तर, ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।