काठमाडौं - सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, डाइनामिक पेमेन्ट क्यूआर सिस्टमको उपयोगले बिमितले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बिमालेख सुरक्षित र सहज तवरले भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीको सूचना र अरू विवरण मोबाइल एपमार्फत हेर्न मिल्ने कम्पनीले व्यवस्था गरेको छ ।

डाइनामिक पेमेन्ट क्यूआर सिस्टममा बैंकहरूको नियमानुसार अधिकतम तीन लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा छ । यस्तै, फोन पेको प्रयोग गरेर कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एपलगायत अरू डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीका अनुसार, डाइनामिक क्यूआर पेमेन्ट सिस्टमको मद्दतले सेवाग्राहीले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइटमार्फते विवरण भरेर डाइनामिक क्यूआर प्राप्त गर्न सक्नेछन् ।

बिमितले देशभरि रहेका १७८ शाखा कार्यालय वा घरमै बसेर सूर्यज्योति लाइफको वेबसाइटमा गई सर्भिस अप्सनमा आफ्नो बिमालेख र पोलिसी नम्बर राखी यो सुविधा सजिलै लिन सक्नेछन् ।