काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी शुक्रबार अस्पताल भर्ना भएको किष्ट अस्पतालले जनाएको छ । उनको स्वास्थ्य परीक्षणपछि डेंगु भएको पुष्टि भएको छ । साथै उनलाई पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।

यसैबीच सरकारले जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

विसं १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसकेका छन् ।