हिम पहिरोमा परी चार भारतीय सैनिक र दुई भरियाको मृत्यु
एजेन्सी - हिम पहिरोमा परी भारत प्रशासित कश्मिरको शियाचिन क्षेत्रमा चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।
सैनिकसँगै मृत्यु हुने दुई जना भरिया समेत रहेको भारतीय सञ्चारमध्यमले जनाएका छन् । समाचारमा जनाइए अनुसार गस्तीमा रहेको सुरक्षाकर्मीको टोली हिम पहिरोमा परेको हो ।
हिम पहिरोमा परेर घाइते भएका ७ जनाको उद्धार गर्नुका साथै मृतकका शव पहिरोबाट निकालिएको बीबीसीले जनाएको छ । भारतीय सेनाका अनुसार सियाचिनको उत्तरी क्षेत्रमा रहेको १९ हजार फिट उचाईको यो हिम शिखरमा आठ जनाको गस्ती टोली थियो । घटना भएलगत्तै गएको बचाउ टोलीले उनीहरुको शव भेट्टाएको सेनाले जनाएको छ ।
लामो समयदेखि जारी भारत र पाकिस्तानको सीमा विवादका कारण यो क्षेत्रमा लडाई चलिरहेको छ । लगातारको वार्तापछि पनि सियाचिन क्षेत्रमा विवाद कायमै छ । भारतले सन् १९८४ हिमनदी आफ्नो क्षत्रेमा रहेको जिकिर गरेपछि भारत र पाकिस्तानबीच सीमाको किचलो जारी छ ।
त्यसपछि लगातार भइरहेको संघर्षका कारण १०औँ हजार भारतीय र पाकिस्तानी सुरक्षाकर्मी मारिएका छन् । सन् २०१६ मा पनि यो क्षेत्रको हिम पहिरोमा परेर १० जना भारतीय सुरक्षाकर्मीको गस्ती नै सिद्धिएको थियो ।
त्यहाँ हिम पहिरो र भूस्खलन जाडो याममा सामान्य मानिन्छ । र, त्यो क्षेत्रको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस