एजेन्सी - सन् २००६ को मार्च यता पहिलो पटक लगातार गोलरहित बराबरीमा रियल म्याड्रिड रोकिँदा एथ्लेटिक बिल्बाओले स्यान्टियागो बर्नेबाउमा अंक बटुल्न सफल भएको छ ।

घरेलु टोलीका लागि नाचो र लुका योभिचको प्रहार पोष्टमा लागेको थियो । त्यस्तै, करिम बेन्जेमाको सातवटा प्रहार विफल भएको थियो । यसमध्ये चारवटा प्रहारलाई गोलकिपर उनाइ सिमोनले रोकेका थिए ।

बराबरीसँगै बिल्बाओ लिगको सातौँ स्थानमा उक्लिएको छ भने रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको छ ।

रियल पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ । यसअघि, भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको रियलले बार्सिलोनासँग गोलरहित बराबरी खेलेको थियो ।

आइतबार भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, रियल सोसिडाडले ओसासुनालाई ४–३ गोलअन्तरले पराजित गर्यो भने लेगानेसले एस्पानियोललाई २–० ले पराजित गर्यो । लेभान्तेले पनि सेल्टाभिगोमाथि ३–१ को सहज जीत निकालेको छ ।