काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका छन्। बुद्धिजीवीहरू सप्रिए सर्जक बनी सबैलाई सही बाटो देखाउने तर बिग्रिए सबैलाई बिगार्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘केही बुद्धिजीवीले धेरै बुझे र बिग्रिए। त्यस्ता बुद्धिजीवी देश, जनता र समयविरुद्ध हुँदारहेछन्’, प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा भने, ‘बुद्धिजीवी दर्शनतिर लाग्छन् अलमलिन्छन्। बाजले डाइभ हानेजस्तो गर्छन्।’

ओलीले सही बाटोबाट सहज परिस्थिति निर्माण हुने तर केही बुद्धिजीवीले बेरोजगार युवालाई गलत बाटोमा लगेको आरोप उनले लगाए। ‘केही हिंस्रक तत्वहरूले मौका पाउनासाथ प्रवृत्ति देखाए अनि जनतालाई कुहिरोको काग बनाउने प्रयत्नमा लागे’, उनले भने। किसानले जे छ त्यही देख्छ तर बुद्धिजीवी त्यसमा इन्द्र देख्ने, हात्तीमा चढेर बज्र समातेको देख्ने अनि किसानलाई उल्लीबिल्ली पार्ने गरेको उनको भनाइ थियो। 

 अन्नपूर्ण पोष्ट दैनिकबाट