काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक/एक गोल गरे ।

टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ । आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।