काठमाडौं - आइसोलेसन सेन्टरबाहिर ना२च ६३७७ नम्बरको एम्बुलेन्स आयो । एम्बुलेन्स कसलाई लिन आएको हो, कसैलाई थाहा थिएन । आइसोलेसन सेन्टरमा बस्नेहरूले सोचे– फेरि आज पनि अर्को संक्रमित थपिए । एम्बुलेन्स रोकियो तर कोही ओर्लेनन् । 

कसैलाई केही नसोधी चालकले एम्बुलेन्स अघि बढाउन खोजे । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरीले सिटी बजाउँदै एम्बुलेन्स रोके । खासमा त्यो एम्बुलेन्स डिस्चार्ज भएका बिरामी लिन आएको थियो । यो आइतबार पौने २ बजे कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्र आइसोलेसनमा देखिएको दृश्य हो ।

एम्बुलेन्स आइपुगेको केहीबेरमा एक स्वास्थ्यकर्मीले माइकबाट भन्न थाले, ‘सैकाजी तण्डुकार, दिनेश तण्डुकार, सितारा थापा, उषा रानाभाट, रामप्रसाद सुवेदी डिस्चार्जका लागि तल आउनुहोस् ।’ तीमध्ये काठमाडौं बुद्धनगरका सौकाजी सबैभन्दा वृद्ध थिए । ७५ वर्षीय सौकाजीको परिवारमा ५ जना कोरोनाबाट संक्रमित भएका थिए । सबैभन्दा बढी असर उनैलाई देखा पर्‍यो । परिवारले उनलाई कीर्तिपुरस्थित आइसोलेसनमा पठाए । अरू घरमै बसे । भर्ना भएको १० दिनमा उनमा लक्षण हरायो । ११ औं दिन अर्थात् आइतबार उनी डिस्चार्ज भएका हुन् । कुरुवा बस्न गएका छोरा दिनेशलाई पनि लक्षण देखिएपछि पीसीआर गर्दा पोजिटिभ देखिएको थियो । दिनेश पनि बाबुसँगै डिस्चार्ज भए । सौकाजी छोराले चलाएको मोटरसाइकलमै घर फर्किए । ‘आमालाई सुरुमा कोरोना भएको थाहा पाउँदा आत्तिएका थियौं । अहिले हामी सबै निको भइसक्यौं,’ दिनेशले भने ।

स्वास्थ्य मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दिनेश र सौकाजीलगायत ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनालाई जितेकाहरूको एक दिनको यो संख्या हालसम्मकै बढी हो ।

 कान्तिपुर दैनिकबाट