काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्दै समृद्ध र दिगो नेपाल निर्माण गर्नुपर्ने बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका हुन्।

महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नारासहित मनाइँदै गरिएको दिवसका अवसरमा उनले घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्य र नागरिक समाजबीच सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै लैङ्गिक समानता कायम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासलाई यो दिवसले थप ऊर्जा र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।