काठमाडौं, एजेन्सी - लण्डन क्लब आर्सनललाई हराउँदै म्यान्चेष्टर सिटी ईपीएल कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

गएराति ईमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोली आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार ग्याब्रियल जिससले सिटीलाई अघि बढाएका थिए । लाकाजेट्टीले ३१ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

तर, ५४ औं मिनेटमा रियाद महरेजले सिटीलाई २–१ ले अघि बढाए । डिबक्स नजिकैबाट महरेजले प्रहार गरेको फ्रि–किक आर्सनलका गोलकिपरको हातमा लाग्दै पोस्ट भित्र छिरेको थियो ।

फिल फोडिनले ५९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । फोडिनकै क्रसमा लोपार्टीले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४–१ को जित सुनिश्चित गरेका थिए ।

सिटीले आर्सनलविरुद्ध शानदार जित सहित एफ ए कपको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।