काठमाडौँ  -  नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको बताइएको छ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन मंगलबारै दाबी पेश गरेका थिए ।

एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो ।

४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १-१ जना सदस्य छन्।