काठमाडौं - आज साताको तस्रो दिन मंगलबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक सबैभन्दा उच्च विन्दु पुगेको छ । आज मङ्गलवार नेप्सेले तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनाएको छ ।

गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो । आज नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले वृद्धि भएको छ ।

यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले र जीवन बीमा समूहको दुई सय ६० अङ्कले उकालो लागेको छ । यस्तै निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ । आज दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै शेयर किनबेच एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको भएको छ । आज मल्टिपर्पोज फाइनान्स, खानी खोला हाइड्रो, युनाइटेड मर्दी हाइड्रो, नेपाल हाइड्रो, सिनर्जी पावर, जोशी पावर, घलेम्दी हाइड्रो, हिमालय ऊर्जा विकास कम्पनी, युनिभर्सल पावर र जानकी फाइनान्स गरी १० कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज सर्पोट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।