काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको छ ।

सोमबार राति घरेलु मैदानमा चेल्सीले वेस्ट ह्याममाथि सहज जित निकालेको हो । चेल्सीको जितमा टमी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे ।

खेलको १० औं मिनेटमा सिल्भाको गोलमा चेल्सीले अग्रता लिएको थियो । सिल्भाले हेड गोलमार्फत चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए ।

अब्राहमले ७८ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटमै ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

जित सहित चेल्सी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीले १४ खेलबाट २५ अंक जोडेको छ ।

समान अंक भएपनि गोल अन्तरका आधारमा टोटेनहमलाई पछि पारेको छ । वेस्ट ह्याम २१ अंक सहित तालिकाको दशौं स्थानमा छ ।