काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्दारका लागि आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विपीन हमासको नियन्त्रणमा रहेको पुष्टि भएकाले  कतार सरकारसँग संवाद गरेर उद्दार गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए।

उनले भने,'नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने संभावना औंल्याइएका छन्। यो विषयमा गम्भीर पहल गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।'

विपन हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले पुष्टि गरेको छ। विपीन इजरायल र हमासबीच युद्धका क्रममा बेपत्ता भएका थिए। उनका साथीहरूले हमासले नियन्त्रणमा लिएर लगेको भनिएपनि उनको अवस्था अज्ञात थियो। तर इजरायल सरकारले विपीन हमासको नियन्त्रणमा रहेको दावी गरेको छ।

उनले काकटभिट्टा नाका खुला गर्न पनि सरकारसँग माग गरे। कोभिडकालमा बन्द भएको सो नाका अहिलेसम्म संचालनमा आउन सकेको छैन। नाका संचालनमा नआउँदा  त्यहाँ होटल यातायात र सम्पूर्ण पर्यटन क्षेत्रमा असर परिरहेको उनको भनाइ छ।