रास्वपाले खबरदारी सभा गर्दै
काठमाडौं - पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो ।
गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ ।
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ ।
रास्वपाले खबरदारी सभा गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पोखरामा खबरदारी सभा गर्ने भएको छ । कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई आज म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ । रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।
‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । भोलि कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’
उनले आज २० गते लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् ।
उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन । ‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । आज पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस