काठमाडौं - स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा परिचयपत्रको फोटोकपीकै आधारमा पनि उपचार सेवा उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

बुधबार बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत स्वास्थ्य बीमाअन्तर्गतको सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।

बोर्डले परिपत्रमा स्वास्थ्य सेवा लिन आउने व्यक्तिले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेमा त्यसमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गर्न भनेको छ।

परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेको अवस्थामा उक्त कार्डमा उल्लिखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भएरनभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न अनुरोध छ।’

बोर्डको निर्देशनअनुसार सम्बन्धित स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य बीमा नम्बर दर्ता प्रणालीमा भिडान गरी उनी बीमामा आबद्ध भएरनभएको यकिन गरेपछि उपचार सेवा उपलब्ध गराउनुपर्नेछ।

यसअघि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन भौतिक परिचयपत्र नै देखाउनुपर्ने व्यवस्था प्रचलनमा थियो। नयाँ व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले भौतिक कार्ड साथमा नभएका बीमितलाई उपचार सेवा लिन सहज हुने बोर्डको विश्वास छ।