काठमाडौं - बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले पत्राचार गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र भन्सारमा रोकिएका ग्यास बुलेट समयमै छुटाएर बजारमा पठाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

त्यस्तै, बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले निर्देशन दिएको छ।

निगमले ग्यास आपूर्तिका तीन मुख्य पक्ष आयात, भण्डारण र वितरणलाई एकीकृत रूपमा परिचालन गरी आपूर्ति प्रणाली थप व्यवस्थित बनाउन खोजेको जनाएको छ ।

आपूर्ति शृङ्खलामा अवरोध आउन नदिई उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको निगमको भनाइ छ ।

यस्तै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको छ । बजारमा कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुन पनि निगमले सचेत गराएको छ ।