काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन् । 

सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक डाकेका हुन्।

योसँँगै विपक्षी दलका नेताहरुसँगको छलफल पनि सरेको छ । सभापति देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बुढानिलकण्ठमै आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने एमालेकै माधवकुमार नेपाल पक्षका नेतालाई समेत बोलाइएको छ । अब पदाधिकारीको बैठकपछि विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ ।  

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको प्रस्तावमा ९३ मत मात्र खस्यो भने विपक्षमा १२४ मत खसेको थियो । २३२ सांसदहरु सहभागी भएको मतदानमा तटस्थमा भने १५ मत खसेको थियो । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । बहुमत गुमाएसँगै ओली स्वतः पदमुक्त भएका छन् ।