काठमाडौं , एजेन्सी - मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए ।

यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे । कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे । दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए । यस जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई भेटमा समेत मुम्बईले दिल्लीलाई हराएको थियो ।

साविक विजेता समेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् ।