काठमाडौंं - राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो प्रकृयाको विरोध गरेको हो।

चौधरीलाई आममाफी दिए दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ।

‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो। त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ। त्यो प्रक्रियालाई रोक्न जनमोर्चाले माग गरेको छ।