ओलीविरुद्ध मातृका यादवको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन निर्देशन
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रका नेता मातृका यादवले दिएको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुख अग्नि सापकोटाले निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ओलीविरुद्ध यादवको असंसदीय अभिव्यक्तिमा आपत्ति जनाउँदै तत्काल हटाउन माग गरेका थिए । ‘हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो । त्यतिबेलै ध्यानाकर्षण गराउँदा सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो भन्ने मात्रै भयो । त्यो भनाइप्रति हाम्रो गम्भीर आपत्ति छ । तत्काल सभाको रेकर्डबाट हटाइयोस्’ उनले भनेका थिए ।
एमालेका सांसदहरुसमेत उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले उक्त विवादास्पद अभिव्यक्ति सभाको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
सांसद् यादवले बिहीबारको बैठकमा ओली ‘फिजीकल्ली र मेन्टल्ली ठिक हुनुहुन्न’ भन्ने अभिव्यक्ति दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस