काठमाडौं - स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ। कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३-० गोलले पराजित गर्‍यो।

एट्लेटिकोको जितमा मोराटाले दुई गोल गर्न सफल भए। उनले खेलको २९ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे।

पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे। ७९ मिनेटमा कोकेले टिमका लागि तेस्रो गोल गरेका थिए।

अंक तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ।चौथौ स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ५७ अंक बटुलेको छ।

शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ।