काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि निमन्त्रणा दिइसकेको भारतको विदेश मन्त्रालयले पुष्टि गरेको छ।

मंगलबार नयाँदिल्लीमा आयोजित भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निमन्त्रणा प्राप्त भइसकेको स्पष्ट पारेका हुन्।

पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार काठमाडौंमा भएको भेटवार्ता, ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता तथा सुगौली सन्धिसम्बन्धी परराष्ट्रमन्त्री शिशिर खनालको अभिव्यक्तिबारे प्रश्न गरिएको थियो।

प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेको भारतीय पक्षले जनाएको छ।

प्रवक्ता जैसवालले प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएपछि त्यसबारे जानकारी गराउने बताए। उनले भने, ‘नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुनासाथ जानकारी गराउनेछु।’

यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेको नेपाल सरकारले स्वीकार गरिसकेको बताइएको छ। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले गत चैतमै प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणा पाइसकेको सार्वजनिक गरेका थिए। सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गरेका थिए।