काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्।

राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा बुधबार आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राजाको यति मात्रै चाहना छ। देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारी आवश्यक छ। राजाले फेरि निरंकुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन। राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’